• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

स्थानीय टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुसँग शनिबारे मेला सम्बन्धि छलफल सम्पन्न

2023-07-14
स्थानीय टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुसँग शनिबारे मेला सम्बन्धि छलफल सम्पन्न

भरतपुर/चितवन उद्योग संघको आयोजनामा स्थानीय टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुसँग शनिबारे मेला सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
शनिबारे मेला स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यही मिति २०८० साउन ०६ गतेदेखि प्रत्येक शनिबार बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुर चितवनमा आयोजना गर्न लागिएको हो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष एवम् चितवन प्रदर्शनी केन्द्रका अभियान्ता कृष्ण प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।
छलफलमा चितवन हाट बजार संघका अध्यक्ष एवम् नमूना टोल विकास संस्थाका सचिव लालबहादुर राय, भरतपुर हाइट टोल विकास संंस्थाकी अध्यक्ष मञ्जु कँडेल पाठक, वीरेन्द्र क्याम्पस रोड नमूना टोल विकास संस्थाका अध्यक्ष शेषराज सापकोटा, स्याउली बजार टोल विकास संंस्थाका अध्यक्ष मधुसुदन ढकाल, हिमाली टोल विकास संस्थाका अध्यक्ष प्रजिल श्रेष्ठ लगायत स्थानीय टोल विकास संस्थाका पदाधिकारी एवम् प्रतिनिधिहरुले सुझाव सहित मेलालाई सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागतसँगै शनिबारे मेलाको जानकारी गराउनु भएको छलफल कार्यक्रममा चितवन प्रदर्शनी केन्द्रका प्रदर्शनी अधिकृत दिपक दुवाडीले मेला सम्बन्धि जानकारी गराउनु भएको थियो ।
मेलामा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित ताजा फलफुल तथा तरकारी, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकारहरु, हस्तकलाका सामाग्रीहरु, अण्डा, माछा तथा गेडागुडीहरु, चिया, कफि तथा हर्वल सामाग्रीहरु र विभिन्न परिकारका खानाका स्टलहरु रहने छन् । मेला स्थल आसपासमा नीजि तथा सरकारी संस्थाहरुमा कार्यरत २० हजार भन्दा बढी जागिरे, स्थानीय टोल तथा छिमेकी पालिकाहरुका व्यक्तिहरु नै मेलाका मुख्य लक्षित ग्राहकका रुपमा रहनेछन् भने, मेलामा राखिने विशेष परिकार तथा उत्पादनहरु जिल्ला बाहिर पठाउनका लागि समेत बिक्री गरिने लक्ष्य लिइएको छ ।
उत्पादक र उपभोक्ताहरुलाई एउटै छानामुनी प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन १००० भन्दा धेरै स्थानिय खरिदकर्ताको उपस्थिति हुने अपेक्षा राखिएको छ । मेलामा अवलोकन गर्न आउने ग्राहकहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको मेलालाई “फार्म टु किचन” अवधारणा अनुसार उत्पादक र उपभोक्ताहरुको माग बमोजिम आवश्यकता अनुसार परिस्कृत गर्दै नयाँ वस्तु तथा उत्पादनहरु सार्वजनिक गर्ने, खरिदकर्ता तथा विक्रेताको जमघट हुने र उद्यमीहरुको भेटघाट हुने उपयुक्त स्थलको रुपमा विकसित गरिने लक्ष्य लिइएको छ ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको छलफल कार्यक्रमलाई संघका अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।