Chitwan Association of Industries
Bharatpur-10, Exporoad, Chitwan, Bagmati Province"AN ISO 9001:2015 CERTIFIED ORGANIZATION"
भरतपुर/चितवन उद्योग संघमा आवद्ध सदस्य उद्योग र उद्योगका सञ्चालकहरु शेयर सदस्य बन्न पाउने गरी सञ्चालन भएको चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण–सभा सम्पन्न भएको छ । चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का कार्यवहाक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभामा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि दवाडीले सहकारीप्रति मानिसहरुको विश्वास घट्दै गएपनि सहकारीको मापदण्डमा रही सञ्चालनमा रहेका सहकारीहरुले गर्ने उदाहरणीय कार्यहरुले अझैपनि शेयर सदस्यहरुको विश्वास जितिरहेको बताउनुभयो । समाजमा रहेका केही त्यस्ता मापदण्ड विपरित सञ्चालनमा रहेका सहकारीहरुलाई जरैदेखि निर्मूल पार्दै आफ्ना सदस्यहरुको हकहितका लागि काम गर्ने सहकारीहरुले नमूनायोग्य कामहरु गर्दै समाजमा उदाहरणीय अगाडि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका उपाध्यक्ष शान्ति अधिकारी, अतिथिहरु चितवन जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष विद्या कोइराला, चितवन जिल्ला सहकारी संघ लिमिटेडका सञ्चालक सदस्य बिष्णु प्रसाद पौडेल लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का कार्यवहाक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य सहित अध्यक्षको बार्षिक प्रतिवेदन सचिव सरिता खनाल पौडेलले आ.व.०८०/०८१ को सचिवको प्रतिवेदन, कोषाध्यक्ष प्रमेश्वर भण्डारीले आ.व.०८०/०८१ को कोषाध्यक्ष एवम् ऋण उपसमितिको प्रतिवेदन तथा आ.व.०८१/०८२ को लागि प्रस्तावित बजेट प्रस्तुत, लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मण पोखरेलले आ.व.०८०/०८१ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा धितो जमानतको ऋण कारोबारमा आदर्श ऋणिको रुपमा आइरन रट डिजाइनिङ्ग एण्ड प्रोडक्सन वर्कशप (सदस्यता नं.३३३) का रमा पन्त, सेवक गु्रप प्रा.लि. (सदस्यता नं. ३५२) का विनोद पन्त, समूह जमानतको ऋण कारोबारमा आदर्श ऋणी विनायक कृषि औजार उद्योग (सदस्यता नं.३४४) का शिव खनाल, बानियाँ ब्लक एण्ड कंक्रिट उद्योग (सदस्यता नं. ५१) का नवराज बानियाँ, नेपाल कृषि तथा पशुपंक्षी फर्म (सदस्यता नं. ५३२) का सीता नेपाल, आदर्श वचतकर्तातर्फ चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति (सदस्यता नं.१६२), आशा अस्पताल प्रा.लि. (सदस्यता नं. ४२) का नारायण सिंह कुंवर, निलकमल इन्जिनिरिङ्ग (सदस्यता नं.८१) का ऋषिराम तिमिल्सिना, ज्येष्ठ शेयर सदस्यतर्फ पुरुषतर्फ कुशल पोल्ट्री उद्योग (सदस्यता नं. ५२) का मधुकर घिमिरे, महिलातर्फ नारायणी स्टेशनरी उद्योग (सदस्यता नं.५६७) का कृष्ण कुमारी माडवारनी, उत्कृष्ट वाल वचतकर्ता ईश्वर कुमार श्रेष्ठ (सदस्यता नं.२९६) र प्रतिक्षा श्रेष्ठ (सदस्यता नं.२३०) का सुपुत्र प्रनिशमान श्रेष्ठ र कर्मचारीतर्फ कार्यालय सहयोगी तेजिया थापा मगरलाई सम्मान गरिएको थियो ।
साधारणसभामा प्रस्तुत अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा आ.व.०८१/०८२ को लागि प्रस्तावित बजेट, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदनहरु माथि छलफल तथा अनुमोदन गरिएको थियो । साथै, साधारणसभाको अवसरमा प्रस्तुत आ.व.०८०/०८१ को लाभांश वितरण, संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण, आ.व.०८१/०८२ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, नियमित मासिक वचत फिर्ता सम्बन्धि कार्यविधि पेश लगायतका थप प्रस्तावहरु पेश गरिनुका साथै निर्णय समेत गरिएको थियो ।
चितवन औद्योगिक विकास साकोसका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको साधारणसभा कार्यक्रमलाई चितवन औद्योगिक विकास साकोसका कार्यवहाक अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।