Chitwan Association of Industries
Bharatpur-10, Exporoad, Chitwan, Bagmati Province"AN ISO 9001:2015 CERTIFIED ORGANIZATION"
भरतपुर/“उद्यमशिल संस्कृति, राष्ट्रको समृद्धि” भन्ने मूल नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय चितवन र चितवन उद्योग संघको संयुक्त आयोजनामा दशौं राष्ट्रिय उद्योग दिवस–२०८१ सम्पन्न भएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय, चितवनका प्रमुख विनोद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला उद्योग प्रबद्र्धन समिति चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि अधिकारीले दशौं राष्ट्रिय उद्योग दिवसको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपालमा स्थापित उद्योगहरुले देशको आर्थिक अर्थतन्त्रमा ठूलो टेवा पुगेको र उद्योगलाई निर्वाद रुपमा सञ्चालन गर्न सरकारले नीतिगत रुपमा सुधार गर्दै लैजानु पर्ने समेत बताउनुभयो ।
सह–आयोजक संस्था चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा आयोजक संस्था, उद्योग तथा वाणिज्य कार्यालय, चितवनका उद्योग अधिकृत नारायण प्रसाद खनालले कार्यपत्र प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, राष्ट्रिय वाणिज्य बैंक चितवन शाखाका प्रमुख सविनराज अधिकारीले उद्योग व्यवसायमा कर्जा लगानीको अवस्था, बैंकिङ्ग सहुलियतका व्यवस्था र उद्योग प्रबद्र्धनका लागि चालु आ.व.मा बैंकले गर्न सक्ने कार्यक्रमहरुको सन्बन्धमा, आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख पुण्य विक्रम खड्काले उद्योग व्यवसायमा आकर्षिक हुने कर कानून, आर्थिक विद्येयकको व्यवस्था बमोजिम चालु आ.व.मा उद्योग, व्यवसायलाई प्राप्त हुने सहुलियत र सुविधाहरु, विवरण पेश गर्दा उद्योगहरु चनाखो हुनुपर्ने लगायतका विषयमा शुभकामना सहित आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा उद्योग संघका पालिका समितिका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरु, महिला उद्यमी मन्च, युवा उद्यमी मन्चका पदाधिकारी तथा सदस्यहरु उद्योग संघका पूर्व पदाधिकारी तथा सदस्यहरू लगायतका उद्योगीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम अन्तर्गत उद्योग तथा वाणिज्य कार्यालयमा उद्योग दिवसको दिन सेवा लिन आउने पहिलो उद्योगी ग्ल्यामर डेकोर हव प्रा.लि.लाई सम्मान गरिएको थियो ।
उद्योग तथा वाणिज्य कार्यालय, चितवनकी उद्यम विकास सहजकर्ता रञ्जु भट्टले सञ्चालन गर्नुभएको कार्यक्रमलाई आयोजक संस्था, उद्योग तथा वाणिज्य कार्यालय, चितवनका प्रमुख विनोद पौडेलले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।