• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

पूर्वी चितवनका उद्योग, व्यवसायमा गुणस्तरीय विद्युतको नियमित आपूर्तिको लागि सरोकारवाला निकायहरुबीच छलफल

2024-05-19
पूर्वी चितवनका उद्योग, व्यवसायमा गुणस्तरीय विद्युतको नियमित आपूर्तिको लागि सरोकारवाला निकायहरुबीच छलफल

पूर्वी चितवनका उद्योग, व्यवसायमा गुणस्तरीय विद्युतको नियमित आपूर्तिको लागि सरोकारवाला निकायहरुबीच छलफल
भरतपुर/पूर्वी चितवनका उद्योग, व्यवसायमा गुणस्तरीय विद्युतको नियमित आपूर्तिको लागि पहल गर्न गठन भएको पूर्वी चितवन नीजि क्षेत्र समन्वय समितिले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको टोलीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । 
छलफल कार्यक्रमका संयोजक दुवाडीले समितिले गुणस्तरीय विद्युतको नियमित आपूर्तिको लागि पटक–पटक भएका बैठक तथा छलफलको निर्णय र समितिले समस्या समाधानका लागि पहल गरेका विषयहरुको संक्षिप्त जानकारी गराउनु भएको थियो । 
दुवाडीले पूर्वी चितवनमा सञ्चालन भएका उद्योगहरुले देशको अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको र साना ठूला गरी सयौं उद्योग, व्यवसायहरुले स्थानीय स्तरमा हजारौंको संख्यामा रोजगारी सिर्जना गरी स्थानीय वासिन्दाहरुको जीवनस्तरमा सुधार गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 
संयोजक दुवाडीले पूर्वी चितवनमा विशेषत पर्यटन उद्योग, पोल्ट्रीजन्य उद्योग, प्लाष्टिकजन्य उद्योग, औषधिजन्य उद्योग, खाद्यजन्य उद्योग, कृषिजन्य उद्योगहरुको बाहुल्यता रहेको र उद्योगहरुमा उद्योगी, व्यवसायीहरुको आवश्यकता बमोजिम नियमित रुपमा गुणस्तरीय विद्युत आपूर्ति नहुँदा उद्योग, व्यवसायमा रहेका मोटर, ट्रान्सफर्मर, पिएलसि लगायतका मेशिन तथा औजारहरुको बर्षेनी करोडौको क्षति हुने गरेको बताउनुभयो । साथै, स्थानीय वासिन्दाहरुले प्रयोग गर्ने दैनिक घरायासी विद्युती उपकरणहरुमा समेत भोल्टेज अपडाउन हुँदा ट्रिप भई ठूलो नोक्सानी व्यहोर्नु परेको अवस्था सिर्जना भईरहँदा नेपाल सरकारको ठूलो लगानीमा पूर्वी चितवनको भण्डारामा सव स्टेशन मार्फत विद्युत प्रसारण लाइन लैजाँदा स्थानीय स्तरमा सिर्जना हुन सक्ने सम्भाव्य समस्याहरु प्रति पनि सजग हुँदै उक्त स्टेशन मार्फत विद्युत वितरण हुने व्यवस्थाको लागि पहल गरी सम्पूर्ण निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई परेको वास्तविक समस्याको समाधान गर्नको लागि समेत आग्रह गर्नुभयो । 

त्यस्तै पूर्वी चितवन १३२ के.भि.ए. सव–स्टेशन आयोजनाका प्रमुख नारायण सापकोटाले ३३ के.भि.ए प्रसारण लाइनका बिषयमा आयोजना मार्फत (राप्ती हर्दी चोकदेखि पुरानो राजमार्ग खैरहनी नगरपालिकाको भवनबाट उत्तरतर्फ चैनपुरचोक हुँदै विद्युत सव–स्टेशनसम्म गुणस्तरिय विद्युत आपूर्ति गर्नका लागि भएका पहलकदमीका विषयमा प्रकाश पार्नुभएको थियो ।

त्यस्तै नेपाल बिद्युत्त प्राधिकरण रत्ननगर वितरण केन्द्रका कार्यालय प्रमुख राजेन्द्र कुमार चौधरीले पूर्वी चितवनको गुणस्तरीय विद्युत आपूर्तिका लागि आफूहरुलाई केन्द्रबाट आएको निर्देशन बमोजिम काम गरिरहेको र अझै व्यवस्थित गर्नका लागि पहल समेत भईरहेको जानकारी गराउनुभयो । 

पूर्वी चितवन नीजि क्षेत्र समन्वय समितिका संयोजक भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा रहनुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू मातहतका सव–स्टेशनहरुबाट हुने सेवाहरुलाई प्रभावकारी बनाउन आफू लागिरहेको बताउनुभयो । उहाँले चितवन १३२ के.भि.ए. सव–स्टेशन आयोजनामा रहेको बजेट र क्षमतको विषयमा अध्ययन गरी पूर्वी चितवनका उद्योग, व्यवसायी र स्थानीयहरुमा परेका समस्याहरुलाई छिटो भन्दा छिटो समाधानतर्फ लैजान पहलकदमी गर्ने बताउनुभयो । 

छलफल कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक मनोज सिलवाल, नेपाल उद्योग परिसंघ गभर्निङ काउन्सिलका सदस्य कृष्ण प्रसाद अधिकारी, चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष गजेन्द्र अधिकारी, उपाध्यक्षहरु मदन घिमिरे, गोपाल प्रसाद गैरे, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष कुमार खनाल, चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेल, चितवन उद्योग संघ खैरहनी समितिका अध्यक्ष युवराज पाठक, खैरहनी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल लगायतको उपस्थिति रहेको थियो । 
छलफल कार्यक्रमलाई चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको थियो ।