चितवन उद्योग संघद्वारा ॐ सञ्जीवनी इन्टरप्राइजेजलाई ५१ वटा अक्सिजन ग्याँस सिलिण्डर हस्तान्तरण

भरतपुर/कोरोना संक्रमणको दोश्रो लहरको प्रभावका कारण दिनानुदिन बिरामीहरुको संख्या बढेसँगै अस्पतालमा अक्सिजनको अभाव श्रृजना भएको सन्दर्भमा उद्योगीहरुले आफूसँग मौज्दातमा रहेका र खाली सिलिण्डरहरु सम्बन्धित अक्सिजन उद्योगहरुलाई फिर्ता गरी सहयोग र सहजीकरण गरिदिन नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय चितवनबाट समेत अनुरोध भए बमोजिम चितवन उद्योग संघले आफ्ना सदस्य उद्योगीहरुलाई आफ्नो उद्योगमा रहेको खाली अक्सिजन ग्याँस सिलिण्डर फिर्ता गर्नका लागि मिति २०७८ बैशाख २४ गते प्रकाशित गरेको सूचनाका आधारमा कतिपय उद्योगीहरुले सम्बन्धित ग्याँस उद्योगहरुलाई नै फिर्ता गरेको र केही उद्योगहरुले संकलन गरी चितवन उद्योग संघमा बुझाएका छन् ।
संकलित सिलिण्डरहरु जिल्ला प्रशासन कार्यालय चितवनको सिफारिसका आधारमा आवश्यकता र माग बमोजिम चितवनका स्थानीयपालिका र स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने गरी चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा स्वर्गद्वारी अक्सिजन ग्याँस उद्योगका आधिकारिक बिक्रेता ॐ सञ्जीवनी इन्टरप्राइजेजका सञ्चालक निरञ्जन न्यौपानेलाई हस्तान्तरण गरियो ।
अक्सिजन ग्याँस सिलिण्डर हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, विभिन्न सञ्चार क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अक्सिजन ग्याँस सिलिण्डर हस्तान्तरण कार्यक्रम अन्तर्गत बोटलर्स नेपाल (तराई) लिमिटेडबाट ४० वटा, स्याण्डविच होम सोलुसनबाट २ वटा, हाईटेक डेलभलपर्सबाट ५ वटा, होमटेक प्रा.लि.बाट ३ वटा र त्रिदेव इन्जिनियरिङबाट १ वटा गरी कुल ५१ वटा ग्याँस सिलिण्डरहरु हस्तान्तरण गरिएको थियो । त्यस्तै गरी संघको सूचना बमोजिम १६ वटा ग्याँस सिलिण्डरहरु उद्योगहरुले सम्बन्धित ग्याँस उद्योगलाई फिर्ता गरिसकेका छन् । जसमध्ये जलप नेपाल प्रा.लि.बाट १० वटा, सेफ स्टिल प्रा.लि.बाट ५ वटा, ए.आई.बिल्लिङ मेटेरियल प्रा.लि.बाट १ वटा, बाबा कृषि ओजार उद्योगबाट ३ वटा र बिनय स्टिल ई.प्रा.लि.बाट ३ वटा सम्बन्धित उद्योगहरुलाई फिर्ता गरिएको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको अक्सिजन ग्याँस सिलिण्डर हस्तान्तरण कार्यक्रमलाई संघका उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।