कोरोना विशेष अस्पतालले ७२ घण्टाभित्र काम शुरु गर्ने

भरतपुर/भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा आज मंगलबार चितवन उद्योग संघको सभाहलमा नोभल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
चितवन उद्योग संघले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यका साथ संघको पहलमा निर्माण भएको चितवन प्रदर्शनी केन्द्रका हलहरुलाई समितिको बैठकको निर्णय अनुसार कोरोना विशेष अस्पतालको रुपमा प्रयोग गर्नका लागि उपयुक्त ठानिएको र ७२ घण्टाभित्र सञ्चालनमा ल्याउने गरी कार्यप्रक्रिया अगाडि बढाउने कार्यलाई सहयोग गर्ने जनाएको छ ।

कोरोना रोकथाम तथा उपचार स्पेशल टाक्र्स फोर्स तयार
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको संयोजकत्वमा १५ सदस्यीय कोरोना रोकथाम तथा उपचार स्पेशल टाक्र्स फोर्स तयार गरिएको छ । समितिको सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर अस्पतालका मेसु डा.श्रीराम तिवारी चितवन मेडिकल कलेजका निर्देशक, कलेज अफ मेडिकल साईन्सेसका निर्देशक, क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्य, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा.अनिलविक्रम कार्की, भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ डा.भोजराज अधिकारी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, नीजि अस्पताल समन्वय समितिका अध्यक्ष डा.नारायण सिंह कुँबर, नर्सिङ संघका अध्यक्ष, जिल्ला समन्वय समितिका प्रतिनिधि, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष नारायणप्रसाद अधिकारी रहनुभएको छ ।
स्पेशल टाक्र्स फोर्सले कोरोना विशेष अस्पतालको नामाकरण दिई शुरु गर्न लागिएको उक्त अस्पतालमा ५० वटा जनरल वेड, १० HDU वेड, १० वटा आईसियु वेड सहित तत्काल काम शुरु गरिने जनाएको छ ।
अन्तरक्रियामा जिल्लास्थित स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यसँग सरोकार राख्ने सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।