कृषिमन्त्रीद्वारा चौथो नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय एक्स्पोको अवलोकन

भरतपुर/कृषि सम्बन्धि वृहत अन्तर्राष्ट्रिय प्रदर्शनीको एक कार्यक्रमका बीच बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बसुन्धरा हुमागाईले उद्घाटन गर्नुभयो । चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन गरिएको कृषि प्रदर्शनीमा मन्त्री हुमागाईले कृषिको उर्बर भूमिको रुपमा रहेको नेपालमा हुने यस्ता खाले प्रदर्शनीले कृषि क्षेत्रको प्रबद्र्धनमा निकै टेवा पुग्ने बताउनुभयो । उहाँले प्रदर्शनीको अवलोकन गर्दै प्रदर्शनीमा राखिएका उत्पादनहरु कृषि क्षेत्रका स–साना प्लान्टदेखि ठूला–ठूला प्लान्टहरुको लागि अति उपयोगी हुने हुँदा यसको भरपुर उपयोग गर्न समेत आग्रह गर्नुभयो ।
प्रदर्शनी अवलोकन पश्चात कृषि मन्त्री र चितवन उद्योग संघका पदाधिकारी एवम् कार्यसमितिबीच छलफल समेत गरिएको थियो । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको छलफल कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष कँडेलले संघका महत्वपूर्ण परियोजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड एभेन्ट्सको संयुक्त आयोजनामा भएको प्रदर्शनी फागुन १३, १४ र १५ गतेसम्म चल्नेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहने र प्रदर्शनीमा देशभरबाट अवलोकनका लागि आउने उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुशरण गर्ने मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिनुभयो ।
प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु–याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षी पालन उद्योगमा प्रयोग हुने ठूलाठूला उपकरणहरुको प्रदर्शन गरिने छ भने, कृषिका नवीनतम औजार, थोपा सिँचाई, विषादीरहित कृषि उपकरण, केरा खेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरीलगायतका विषयमा प्रदर्शनी केन्द्रित रहनेछ ।