औद्योगिक राहत कोष सञ्चालन एवं उद्योगी क्षमता अभिवृद्धि तालिमका लागि सम्झौता

राप्ती/राप्ती नगरपालिका भित्रका उद्योगीहरुको क्षमता अभिबृद्धि गरी उद्यमशिलतामा दिगो रुपमा टिकाई राख्न नगरपालिका भित्र स्थापना भइ सञ्चालनमा रहेका उद्योगहरुको प्रबद्र्धन प्रयोजनार्थ उद्योगी क्षमता अभिबृद्धिका लागि तालिम तथा विकास कार्यक्रम सञ्चालन गर्ने र उद्योगको संरक्षणका लागि औद्योगिक राहत कोष सञ्चालन स्थापना गर्ने सम्बन्धमा चितवन उद्योग संघ र राप्ती नगरपालिका नगर कार्यपालिकाको कार्यालय बीच सम्झौता पत्रमा हस्ताक्षर गरियो । 
सम्झौता पत्रमा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल र चितवन उद्योग संघ राप्ती इकाई समितिका अध्यक्ष टंकप्रसाद उप्रेती (रामु)ले हस्ताक्षर गर्नुभएको थियो । 
सम्झौता पत्रमा उद्योगीहरु तथा उद्योगका कर्मचारीहरुलाई आवश्यक तालिम तथा विकासका कार्यक्रमहरु सञ्चालन मार्फत जनशक्तिको क्षमता अभिबृद्धि गर्ने तथा उद्यमशिलतामा दिगो रुपमा टिकाउन सहयोग पुर्याउने, पुनर्ताजगीकरणका कार्यक्रम सञ्चालन गर्ने तथा  स्थानीय जनशक्तिलाई स्वरोजगार बनाउने आधार तयार गर्ने, मानव नियन्त्रण बाहिरका प्रकोपहरुका कारण सिर्जना हुने जोखिममा पनि उद्योग सञ्चालनमा निरन्तरता दिन सहयोग गर्ने, औद्योगिक सूचना केन्द्र स्थापनाका लागि आधार तयार गर्ने लगायतका विषयहरु समेटिएको छ । 
सम्झौता हस्तान्तरण कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाराम भुजेल, संघका उपाध्यक्षहरु संघका उपाध्यक्षहरु दुर्गा प्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, पुरुषोत्तम रिजाल, राप्ती इकाई समितिका उपाध्यक्ष सुदिपकुमार ओली, महिला उद्यमी मञ्च राप्तीकी अध्यक्ष कृष्णमाया मानन्धर, युवा उद्यमी मञ्च राप्तीका अध्यक्ष बुद्धिराम चौधरी, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको सहभागिता रहेको थियो ।