इच्छाकामनामा चितवन उद्योग संघको इकाई समिति

कुरिनटार/चितवन उद्योग संघ अन्तर्गत इच्छाकामना गाउ“पालिका इकाई समितिको भेलाले अमरबहादुर अधिकारीको संयोजकत्वमा ७ सदस्यीय इकाई कमिटी गठन गरेको छ । नवनिर्वाचित समितिको निर्देशकहरुमा हर्ककुमारी गौचन, रामहरि कँडेल, शिवप्रसाद पौडेल, रुपेश श्रेष्ठ, बाबुकाजी त्रिपाठी र नरबहादुर नेपाल रहेका छन् । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न भेलामा इच्छाकामना गाउँपालिकाको अध्यक्ष गीता गुरुङ प्रमुख अतिथि रहनु भएको थियो । 
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारका एसपी गणेश थापा विशिष्ट अतिथि, नेपाल कम्युनिष्ट पार्टी, इच्छाकामनाका हरिबहादुर थापा, नेपाली काँग्रेस, इच्छाकामनाका प्रतिनिधि केशव सिलवाल, इच्छाकामना गाउँपालिकाकाका प्रशासकीय अधिकृत नरहरि सापकोटा, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य रोहिणी त्रिपाठी, चितवन उद्योग संघको तर्फबाट उपाध्यक्षद्वय त्रिलोचन कँडेल, मदन घिमिरे, कार्य समिति सदस्यहरु विक्रम सापकोटा, दुर्गाप्रसाद भण्डारी, राशी लामालगायतको समेत उपस्थिति रहेको थियो ।  
नवनिर्वाचित इकाई समितिका पदाधिकारीहरुलाई संघका अध्यक्ष भेषराज दुवाडीले सपथ ग्रहण गराउनु भएको थियो । सपथ ग्रहणसँगै चितवन उद्योग संघ इच्छाकामना गाउँपालिका कमिटीका नवनिर्वाचित संयोजक अमरबहादुर अधिकारीले प्रतिवद्धता मन्तव्य समेत राख्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारका एसपी गणेश थापा, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता गुरुङ र संघका अध्यक्ष भेषराज दुवाडीले एकसाथ औद्योगिक सुरक्षा स्टीकरको अनावरण समेत गर्नुभएको थियो । कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।